हत्याको प्रयासपछि डनल्ड ट्रम्पले भने, ‘मलाई भाग्यले की भगवानले बचायो’


एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्पले पेन्सिल्भेनियामा शनिबार रातिको एक र्‍यालीमा भएको हत्याको प्रयासपछि आफू यतिबेला मरेको हुनसक्ने बताएका छन्।
घटनापछिको एक अन्तर्वार्तामा ट्रम्पले आफूलाई ‘भाग्यले वा भगवानले’ बचाएको महसुस गरेको बताएका हुन् ।

उनले भने, ‘मैले गोली चल्ने बेलामा नै टाउको घुमाएँ त्यो पनि सहि मात्रामा । त्यो एकदमै अविश्वसनीय कुरा थियो ।’ उनले यदी टाउको सहि समयमा नघुमेको भए कान चिर्न सक्ने गोलीले सजिलै आफ्नो ज्यान लिन सक्ने बताएका छन् ।

उनले भने, ‘म यतिबेला मरिसकेको हुन्थेँ । म यहाँ हुँदै हुँदैनथेँ ।’ ट्रम्पले आफूलाई गोली लागेको थाहापाएपछि भीडतर्फ हेरेको क्षण स्मरण गरे । ‘त्यस क्षणमा त्यहाँका मानिसहरूबाट आएको ऊर्जा छुट्टै थियो । उनीहरु टक्क उभिरहेका थिए । मलाई त्यो क्षणको वर्णन गर्न नै गाह्रो परिरहेको छ । सारा संसारले हेरिरहेको मैले महसुस गरेको थिएँ ।’

शनिबार हत्याको प्रयासमा घाइते बनेका ट्रम्प यतिबेला आफ्नो चुनावी र्यालीमा पुन व्यस्त बनेका छन् । उनी रिपब्लिकन पार्टीको अधिवेशनमा सहभागी हुन सोमबार विन्सकन्सिन राज्यको मिल्वौकी सहर पुगेका छन् । हत्याको प्रयास भए पनि आफ्नो चुनावी र्‍याली र पूर्वनिर्धारित तालिकामा परिवर्तन नगर्ने प्रतिबद्धताका साथ उनी पार्टीको अधिवेशनमा पुगेका हुन् ।

उनलाई पार्टीले यस साताको अन्त्यमा अगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि औपचारिक उम्मेदवार घोषणा गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिवार साँझ बटलर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा ट्रम्पमाथि गोली प्रहार भएको थियो । ट्रम्पको दायाँ कानमा गोली लागेको थियो । ट्रम्पलाई २० वर्षीय थोमस म्याथु क्रुक्सले गोली प्रहार गरेका थिए । गोली प्रहार गनेए क्रूक्सको भने गुप्तचर सेवाका सुरक्षाकर्मीले हानेको गोली लागेर मृत्यु भएको एफबीआईले जनाएको छ । उक्त आक्रमणमा थप एक दर्शकको मृत्यु भएको थियो भने अन्य दुई जना गम्भीर घाइते भएका थिए ।