पशुपतिमा कोटीहोम महायज्ञ सुरु, साउन महिनाभर चल्ने


काठमाडौं– मंगलबारदेखि ‘ऐतिहासिक पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ सुरु भएको छ । विराट महायज्ञ साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने महायज्ञको आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ ।

श्रावण महिनाभरि चल्ने महायज्ञ अवधिभरि एकसय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण हुँदैछ । साथै वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुनेछ ।

महायज्ञमा वाचन प्रवीण पण्डित, दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथा वाचन गर्ने जनाइएको छ । महायज्ञको पूर्वसन्ध्यामा कलश शोभा यात्रा गरिएको थियो ।