प्रहरी बोकेर गाडी नालीमा पल्टिँदा ३० जना प्रहरी घाइते


विराटनगर- बुधबार विराटनगरमा प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो। बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार ३० जना प्रहरी घाइते भएका छन्।

मोहरम पर्वमा सुरक्षाका लागि थप बलका लागि प्रहरी लिएर रानीतर्फ जाने क्रममा गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीको सचिवालयले जनाएको छ।

उपचारका लागि पठाइएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढी चोट लागेको छ।

सडकमा बालकलाई जोगाउन खोज्दा प्रहरीको गाडी सडकको नालामाथि पल्टिएर दुर्घटना भएको थियो । सडकको नालामाथि पल्टिएको गाडी डोजरको सहायताले उठाएर हटाइएको प्रदेश प्रहरी कार्यालय, रानीले जनाएको छ।