भारतीय टोलीले सुरु गर्यो सिमलताल पहिरोमा बेपत्ताको खोजी


काठमाडौं– नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्य गर्न आएका भारतीय टोलीले उद्धार कार्य सुरु गरेका छन् ।

भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबारदेखि खोजतलासका लागि शनिबार घटनास्थल आइपुगेको थियो । उनीहरुले आज बिहान १० बजेदेखि खोजी तथा उद्धार कार्य सुरु गरेका हुन् ।

अत्याधुनिक सोनार क्यामरा लगायतका उपकरणसहित आएको उक्त टोलीले शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा घटना विवरणबारे जानकारी लिएको थियो । सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयमा गएराति बसेको भारतीय टोली आज बिहानदेखि खोजी कार्यमा खटिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोली एक सातासम्म नेपालमा रहने छ ।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुणाल तिवारीले भारतमा पनि धमिलो र उच्च वहाबका नदीमा खोजतलास गरेको भन्दै यहाँ काम गर्न पनि समस्या नहुने बताए ।

यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा बिहान करिब साढे ३ बजे खसेको पहिरोमा परेका थिए । ती दुवै बस पहिरोसँगै त्रिशूली नदीमा खसेर वेपत्ता भएका थिए ।

दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । गत शनिबारसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।