एजेन्सी- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा तीब्र रुपमा डढेलो फैलिरहेको छ । त्यहाँको डढेलो अनियन्त्रित भएपछि दुई वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् ।
उक्त डढेँलो बुधवारदेखि शुरु भएको थियो । डढेलो फैलने क्रम नरोकिएपछि त्यहाँकाबट्टे र चिको काउन्टीमा आपतकालको घोषणा गरिएको हो ।
‘द पार्क फायर’ नाम दिइएको यस डढेलो प्रति घण्टा २० वर्गकिलोमिटरका दरले फैलिएर जंगल नष्ट गरिरहेको छ । डढेलोले चिकोको उत्तर पूर्वमा ३ लाख ४८ हजार वर्ग किमि क्षेत्रफल सखाप पारिसकेको बताइएको छ । यसलाई निभाउन दुई हजार पाँच सय जनाभन्दा धेरै अग्नी नियन्त्रक र १६ वटा हेलिकोप्टर परिचालन भएका छन् ।
कैयौं दमकल र ट्याङ्करले पानी हालेर आगो निभाउने प्रयास भइरहेको बीबीसीले जनाएको छ । तर बाक्लो घाँस भएको क्षेत्र, भिरालो जमिन, तीब्र हावा र इन्धनहरु रहेको क्षेत्रका कारण आगो तीब्र रुपमा सल्किरहेको र निभाउन कठिन भइरहेको अग्नि नियन्त्रकले बताएका छन् ।
उक्त आगो जानाजान सल्काइएको प्रहरीले आशंका गरेको छ । आगो सल्काएको आरोपमा त्यहाँका प्रहरीले एक जना ४२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएका छन् । जंगलमा आगो बलिरहेको गाडी लगेर छाडिदिएको र सोही आगोले उग्र रुप लिएको प्रहरीले अनुमान गरेको छ ।
क्यालिफोर्नियामा हरेक वर्षजस्तो भिषण आगोलागी हुनेगरेको छ । यस आगोलाई यसवर्षकै ठुलो डढेलो भनेको छ । यसअघि सन् २०१८ मा क्यालिफोर्नियामा भिषण डढेलो लागेको थियो । त्यसमा लाखौँ जनावर मर्नुका साथै डढेलोमा परेर कम्तीमा ८० जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया