चितवन– पोखराबाट काठमाडौं जाने क्रममा आबुँखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव आजै भारत लैजाने भएको छ । शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन जाने भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर मिनास्थलमा ल्याण्ड हुने भएको छ । आज बिहानैदेखि मृतकको शवको पोष्टमार्टम भइरहेको छ । दिउँसो साढे दुई बजेभित्र सबै शवको पोष्टमार्टम सकेर सिधै मुम्बइ लैजाने तयारी गरिएको हो ।
शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
भदौ ५ मा भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।
घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । उनीहरुको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया