चलेन ‘रावायण’मा पल र पूजाको जादु, हलमा दर्शक पुग्न छाडे


काठमाडौं– पूजा शर्माको लगानी रहेको हरेक फिल्मजस्तै ‘रावायण’ को तामझामका साथ प्रचारप्रसार गरिएको थियो । शुक्रबार रिलिज भएको यो फिल्म चौँथो दिनमा आइपुग्दा हलमा दर्शक पाउन मुश्किल भएको छ ।

निर्मात्री पूजा शर्मा रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्लमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी लगायताका कलाकारको प्रमुख भुमिका रहेको छ । यो फिल्म प्रदर्शनमा आउनु अघि देखिनै राम्रै हाइप बनाएको थियो । फिल्मको निर्माण टोलीले प्रचारप्रसारमा निकै मेहेनत गरेको थियो ।

नायक पल शाहका लागि पनि यो ‘फिल्म’ आर्थिक रुपमा सफल हुनु निकै महत्वपूर्ण थियो । नाबालिक बलात्कार मुद्दाबाट हिरासतमा बसेयता उनको मुख्य भूमिकामा रहेको यो पहिलो फिल्म भएको भन्दै उनको कमब्याक फिल्म भएको दाबी समेत गरिएको थियो । पल शाहको फ्यान फलोइङ र पुजाको पब्लिसिटीले फिल्मले राम्रै दर्शक पाउने अपेक्षा गरिएको थियो । फिल्म रिलिज भएको दुई दिन शुक्रबार र शनिबार दर्शकहरुको उपस्थित मध्यम देखिएपनि अपेक्षा गरिएजति देखिएको थिएन ।

दर्शकहरुलाई हलसम्म ल्याउन पूजा र पलले हलहरुमा पुगेर दर्शकसँग भेट्ने र हलबाहिर गाडीको हुटबाट टाउको निकालेर स्टारडम समेत देखाए । दुईदिनसम्म दर्शकलाई हलमा ल्याउने प्रयास असफल भएपछि तेस्रो दिनबाट भने उनीहरु हल जान छोडे । आइतबारदेखि नै रावायण हेर्न जाने दर्शकको खडेरी देखिन थाल्यो ।

यस फिल्मको सोमबारको व्यापार हेर्ने हो भने राइजिङ मलमा रहेको क्युएफएक्स हलमा साँझ ५ः१५ को शोको लागि ४ः३० बजेसम्म ४ वटा सिट अनलाइन बुकिङ भएको छ। सोहि समयमा ५ बजेको भक्तपुरस्थित भाटभटेनीको क्युएफएक्स हलमा १० वटा सिट बुक भएका छन् । लाविम मलमा ८ः१५ का लागि २ वटा, सिटि मलमा ७ बजेका लागि ४ वटा र सिटि स्क्वाएर मलमा ७ः४५ का लागि कुनै पनि सिट बुक भएको छैन ।

रावायणमा हिसांत्मक दृश्यका कारण सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको थियो । खासै दर्शन फिल्म हेर्न नगएपछि फिल्मको केही दृश्यहरु ब्लर र म्युट गरेर सबै उमेर समुहको दर्शकले हेर्नेगरि रिलि भएको दुईदिनपछि पुन सेन्सर पास गरेको थियो । निर्माण टिमले केहि दृश्यमा ब्लर र केही संवादमा म्यूट गरेपछि पुनः सेन्सर गरिएको फिल्मकी निर्माता तथा अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमार्फत जानकारी समेत दिएकी छिन् । तर सबै उमेर समुहका दर्शकले फिल्म हेर्न मिल्ने भएपनि दर्शकहरु हलसम्म पुग्न छाडेका छन् ।

फिल्मको बजेट सार्वजिक नभएपछि यस फिल्मको निर्माण र प्रचारप्रसारमा पूजाले खुलेरै खर्च गरेकी थिइन् । तर फिल्म सोचे अनुरुप बन्न सकेन । यस फिल्मले नेपाली समाजमा जरा गाडेको बसेका विषयवस्तुको उठान गर्ने कोशिश गरेपनि यसको समाधानको लागि हानिकारक सोचहरुलाई साथ दिएको छ । दृश्यांकन निकै राम्रो रहेको यो फिल्मको कथा भने कमजोर रहेको छ । हरेक समस्याको समाधान हिंसात्मक तरिकाबाट गर्नुपर्ने यो फिल्मले देखाएको छ । फिल्मले देखाएको गुण्डागर्दी र अराजकताको चित्रण अति अवास्तविक छ। त्यसले मधेसवासीप्रति नकारात्मक दृष्टिकोण बढाउन थप मलजल गरेको छ । दक्षिण भारतीय शैलीलाई कपि गरिएको यो फिल्ममा एक्सन, डायलग र गीतहरुमा नेपाली फिल्मको मौलिकता भेटिँदैन ।

यो फिल्मले रिलिज भएयता कति कलेक्शन गर्यो भन्ने कुरापनि खुलाइएको छैन ।रावायण फिल्मको घोषणा भएदेखि नै विवादमा मुछिएको छ । फिल्म निर्माणका लागि नायक अनमोल केसीले सहमति जनाउँदै १० लाख पेस्की लिएको र पछि फिल्म गर्न नमानेको भन्दै सुदर्शन थापाले आर्थिक विश्वासघातको उजुरी दिएका थिए । जसकारण १ करोड १५ लाख रुपैयाँ आर्थिक विश्वासघातको अभियोगमा अनमोल हिरासतमा समेत बस्नु परेको थियो ।