विवाह गरेको २४ घण्टा पनि बित्न नपाउँदै पुछियो प्रमिलाको सिउँदो

3.6k
Shares

मकवानपुर– तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहको स्वरुप दिएको २४ घण्टा पनि बित्न नपाई एक प्रेमिल जोडीको वियोग भएको छ । मकवानपुरको थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङ र कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेले २८ भदौमा विवाह गरे ।

तर तीन वर्ष लामो प्रेमसम्बन्धपछि विवाह गरेको यो जोडी पति–पत्नि भएर एक दिन पनि सँगै बस्न पाएनन् ।

तीलक तीन वर्षअघि देवाली पुजा हेर्न प्रमिलालाई गाउँमा पुगेका थिए । त्यहिँ तिलकले प्रमिलालाई मन पराएका थिए । उनीहरुले मोबाइल नम्बर साटासाट गरेर र कुराकानी गर्ने क्रममा उनीहरुको मन पनि साँटियो । यी दुबैको परिवारलाई उनीहरुको प्रेम सम्बन्धको बारेमा थाहा थियो । छिट्टै विवाह बन्धनमा बाँधिने पनि उनीहरुले योजना बताएका थिए ।

तर २८ भदौमा यी जोडीले परिवारसँग सल्लाह नगरी साथीको घरमा तामाङ परम्पराअनुसार सुटुक्क विवाह गरे । त्यही दिन साँझ तिलकका काका काकी र दाजु भाउजुले उनीहरुलाई भित्र्याए । बिबाह भएको रात आफ्नो जन्म घर छाडेर आएको चिन्ता र पराई घरमा आगामी जिन्दगी कस्तो होला सोच्दै निदाउन सकिनन् ।

तिलकपनि रातपनि यताउता छट्पटाएरहेका थिए । प्रमिलाले सोचिन्, ‘तिलकलाई पनि आफुलाई जस्तौ डर लाग्यो होला ।’ बिहान ४ बजेतिर तिलकका हातहरू काँप्न थाले, श्वास फेर्न गाह्रो भयो। प्रमिलाले पानी खुवाइन्।

भोलीपल्छ खाना खाने समयसम्म पनि तिलकलाई सञ्चो भएको थिएन। तर उनी सबैजनासँग सामान्य कुराकानी गरिरहेका थिए । पनि बेला बेलामा परिवार र प्रमिलासँग बोलिरहेकै थिए।

शनिबार दिउँसो करिब १२ बजेतिर हातगोडा लगलग कमाएर तिलक भुईँमा लडे । त्यसपछि उनी फेरी कहिल्यै उठेनन । उनले जिन्दगी भरि सँगै रहने बाचा कसम खाएर भित्र्याएकी प्रमिलालाई २४ घण्टा पनि नपुग्दै सँधैका लागि छाडेर गए । एक दिनमै तिलकले लगाइदिएको सिन्दुर प्रमिलाको निधारबाट पुछियो ।

प्रेसरका कारण उनको मृत्यु भएको परिवारले जनाएको छ । तीन वर्षकै उमेरमा बुबा गुुमाएका तिलककी आमाले गत असारमा मात्र दोस्रो विवाह गरेकी थिइन् । सोहि समयदेखि नै तिलक प्रेसरको बिरामी भएका थिए । उनमा केहि समयदेखि डिप्रेसनको समस्यासमेत रहेको बताइएको छ ।

उता तिलकको मृत्यु भएको पाँच दिन पछि प्रमिलालाई उनको माइती पक्षले लिएर गएको छ । सासु ससुरा र श्रीमान नै नभएपछि प्रमिलालाई उनको माइतीमै राख्ने गरी लगिएको हो ।