काभ्रेपलाञ्चोक– केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् । मृतक ६२ जनामध्ये एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा मृत्यु भएकी एक जना रामेछापकी महिला हुन् ।
घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् । घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चार जना अझै बेपत्ता रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको मृत्यु भएको छ । तेमाल गाउँपालिकामा नौ जनाको मृत्यु भएको छ ।
यसैगरी, मण्डनदेउपुरमा आठ जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिकामा सात जना, नमोबुद्ध नगरपालिका पाँचजना, बनेपामा ३ जना र धुलिखेलान २ जनाको मत्यु भएको छ ।
यता भुम्लु गाउँपालिकामा तीन जना चौँरीदेउराली गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका, खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै मानवीय क्षति भएको छैन । बाढीपहिरोमा बेपत्ताको खोज, उद्धार तथा राहत वितरणकार्य जारी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया