रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति, थप अनुसन्धानका लागि काठमाडौं ल्याइने

1.2k
Shares

काठमाडौं– सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ । पछिल्लो समय १३ दिनको लागि हिरासतमा राख्न थप गरिएको म्याद सक्किएपछि लामिछानेलाई आज प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

न्यायाधीश हिमलाल बेलवासेको इजलाशले उनलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आज थपिएको म्याद पाँचौ पटकको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउलगत्तै कास्की लगिएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान गरिएको छ । उनीविरुद्ध सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान गरिएको छ ।

कास्की प्रहरीको हिरासतमा लामिछाने रहिरहँदा उनीविरुद्ध रूपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी रकम अपचलनको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसअघि उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखराबाट रुपन्देही लगेर बयान लिइएको थियो । उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछानेलाई अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

यस्तै चितवनको साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाको रकम अपचलन गरेको भन्दा लामिछानेसहित १० जनाविरुद्ध सहकारी बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका छन् ।