सौरभ चौधरीको निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन ४६ दिन लगाएर दाङमा गरिएको छ । अब, फिल्मको छायांकन १० दिन काठमाडौंमा गरिने निर्माणपक्षले बताएको छ ।
निर्देशक चौधरीका अनुसार, १० दिनसम्म खिचेपछि फिल्मको सम्पूर्ण छायांकन सकिनेछ । यो फिल्मको छायांकन चरणमै सम्पादन र भीएफएक्सको काम पनि भइरहेको छ । यसैले, यो फिल्म चैत्र २९ गतेबाट नै रिलिजमा आउने भनाई निर्माणपक्षको छ ।
फिल्मको बारेमा निर्देशक चौधरीले भने–‘हामीले दिनरात नभनी काम गरेका छौं । अहिलेसम्म कुनै बाधा अड्चन फिल्मको काम भएको छ । म दर्शकलाई गलत हल्लाको पछि नलाग्न आग्रह गर्न चाहन्छु । हाम्रो फिल्म चैत्र २९ गतेबाट नै रिलिजमा आउनेछ ।’
विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुषाल, दिव्यदेव लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्मलाई एक्सन जनरामा तयार पारिएको छ । निर्देशक चौधरीको नै कथा रहेको यो फिल्ममा नायक विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिदैछन् । फिल्मका अन्य कलाकारहरुको बारेमा केही पनि बताइएको छैन ।
आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भइरहेको फिल्ममा बसन्त लम्सालको निर्माण छ । सेभेन सिज इन्टरटेन्मेन्टले यो फिल्मको अन्तरराष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।
सञ्जय लामाको छायांकन रहेको यो फिल्मले बक्स अफिसमा आक्रामक सुरुवात गर्ने विश्वास निर्माणपक्षको छ । निर्देशक चौधरीले ‘अगस्त्यः च्याप्टर १’ बनाएपछि उनको चर्चा बढेको थियो । यसैले, दर्शकलाई ‘कर्मा’को पनि प्रतिक्षा बढेको छ ।
प्रतिक्रिया