‘सिन्दूर’मा विपिन कार्की र निरुता सिंहको इन्ट्री, दाङमा धमाधम छायांकन


काठमाडौं – कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने युनिभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को छायांकन अहिले दाङमा धमाधम भइरहेको छ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी रहेको छ भने दिनेश सिंह महरा कार्यकारी निर्माता हुन्। फिल्मको सुरुवाती चरणमा अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझीको नाम सार्वजनिक गरिएको थियो।

अब भने फिल्ममा दुई चर्चित कलाकार विपिन कार्की र निरुता सिंहको प्रवेश भएको निर्माणपक्षले जनाएको छ। निर्देशक सुनारका अनुसार निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि फिल्मको छायांकनमा सहभागी हुनेछन्। दुवै कलाकारको भूमिकाबारे भने निर्माणपक्षले केही खुलाएको छैन।

संकल्प भुजेलको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृष्ण बम मल्ल र दिनेश ढकालको संगीत रहनेछ। प्रकाश हमाल निर्माण प्रमुख, करणबहादुर साउद मुख्य सहायक निर्देशक तथा रामजी लामिछाने नृत्य निर्देशकका रूपमा छन्।

फिल्ममा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजर, एनवी महर्जन एक्सन निर्देशक तथा मदन सुरखेती सह–लेखकका रूपमा जोडिएका छन्।

एक महिनाको सेड्यूल बनाएर छायांकन भइरहेको ‘सिन्दूर’ले सामाजिक कथावस्तुलाई केन्द्रमा राखेको छ। विशेषगरी एक महिलाका लागि सिन्दूरको महत्व कति हुन्छ भन्ने विषयलाई फिल्मले प्रस्तुत गर्ने निर्देशक सुनारले बताएका छन्।
फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म तय गरिएको छैन।