ओलीको तारिफ गर्दै देउवाले भने- हामी सँगै जेल बसेका हौँ, अविश्वास गर्नुपर्ने कुनै आधार नै छैन


काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्।

‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो,’ उनले भने, ‘झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’

उनले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या आउन सक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन् । केही समस्या आउन सक्छन् । त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ । स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ । अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन ।’