काठमाडौं – अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको धुन समेटिएको गीतमा रुबै र नेपाल आइडल सिजन–३ का फस्ट रनरअप प्रवीन बेडुवालको स्वर रहेको छ।
तीन दशकअघिको नेपाली समाज र मेलाको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन्। भिडियोमा उनीहरूबीचको रमाइलो नोकझोंकसँगै आकर्षक नृत्य प्रस्तुत गरिएको छ। गीतको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् भने संगीत, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन्।
फिल्ममा अनमोलले अभिनेता भुवन केसी र प्रिन्सीले अभिनेत्री गरिमा पन्तको युवावस्थाको भूमिका निर्वाह गरेका छन्। फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरीलगायतका कलाकारको अभिनय छ।
सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा युग भुसाल र एसडी योगीको संगीत छ। रोमन बज्राचार्यले पार्श्व संगीत दिएका छन्।
अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेको फिल्ममा विवेक थापा सह–निर्माताका रूपमा छन्। फिल्म भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

















प्रतिक्रिया