निर्देशक तुलसी घिमिरेले आफ्नो नयाँ फिल्म ‘पहाड’को छायांकन सुरु गरेका छन् । गोरखाबाट यो फिल्मको छायांकन सुरु गरिएको हो ।
आज गोरखा दरबारमा पुजा गरेपछि मुख्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यू नायिका पञ्चमी घिमिरेले मुहुर्त सट दिएका थिए । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएको पहाड र यसले निम्त्याएको आर्थिक र सामाजिक समस्याको कथालाई यो फिल्मले उठान गर्नेछ ।
फिल्मबारे निर्देशक घिमिरेले भने–‘मानव बसोबासविहिन बनेको उच्च पहाडको कथा समेटिएको छ । फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । फिल्मको बिषय अनुसार हामीले कलाकार चयन गरेका छौं । नयाँदेखि पुराना पुस्तासम्मलाई समेट काम गर्न पाउँदा निकै खुशी छु ।’
ओजस्वी केसी निर्माता रहेको यो फिल्ममा प्रमोद प्रधानको छायांकन रहनेछ । प्रमोदले निर्देशक घिमिरेसँग ‘अन्याय, कोसेली, चिनो र दक्षिणा’मा सहकार्य गरेका छन् ।
यो फिल्मको छायांकन गोरखामा २५ दिन र भारतमा १५ दिन हुनेछ । भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको यो फिल्ममा विपिन कार्की, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्ममा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता छन् ।
प्रतिक्रिया