शिक्षिकाले आठ वर्षीया बालिकाको चक्कु हानेर हत्या


काठमाडौँ- दक्षिण कोरियामा एक जना शिक्षिकाले आठ वर्षीया बालिकाको चक्कु हानेर हत्या गरेकी हुन् । यो घटना दाएजेओनको एउटा प्राथमिक विद्यालयमा भएको हो ।

आफूले छात्रामाथि चक्कु प्रहार गरेको ४० वर्षीया संदिग्धले स्वीकार गरेको प्रहरीले जनाए । स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेतिर बालिका विद्यालयको भवनको दोस्रो तलामा घाइते अवस्थामा भेटिएकी हुन् ।

अस्पताल पुर्‍याउँदासम्म उनको मृत्यु भइसकेको थियो र शिक्षिका पनि छात्राको पासमै थिइन् । दक्षिण कोरियाका कार्यकारी राष्ट्रपति चोइ साङ–मोकले यस घटनामाथि छानबिन गर्न निर्देशन दिएका छन् । भविष्यमा यस्ता घटनाहरू हुन नदिन आवश्यक उपायहरू लागू गर्न उनले अधिकारीहरूलाई आदेश दिएका छन् । यो घटनापछि मंगलबार विद्यालय बन्द भएको हो ।

शिक्षिकाले डिसेम्बर ९ मा नै डिप्रेसनको कारण देखाउँदै ६ महिनाको बिदा मागेकी हुन् । तर डाक्टरले काम गर्न फिट छिन् भनेर भनेपछि २० दिन बिदा बसेपछि उनी विद्यालय फर्किएको दाएजेओन शिक्षा कार्यालयले जनाएको छ।

मृतक विद्यार्थीसँग शिक्षिकाको कुनै सम्बन्ध नभएको अधिकारीहरूले बताएका छन् । चक्कु प्रहारको घटनाभन्दा केही दिन अगाडि नै शिक्षिकाले हिंस्रक व्यवहार पनि देखाइरहेकी बताइएको छ ।