कीर्तिपुर अस्पतालले अर्थमन्त्री र मेयरलाई भेट्न रोक लगायो


काठमाण्डौ – कीर्तिपुर अस्पतालले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न रोक लगाएको छ।

हिजो पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा घाइते भई अस्पतालमा उपचाररत पौडेल र आचार्यलाई सङ्क्रमणको जोखिम भएकोले बाह्य व्यक्तिहरूसँग भेटघाट बन्द गरेको अस्पतालले जनाएको छ।

उहाँहरूको अनुहार, हात र गर्धनमा जलन भएका छन् र वर्तमानमा कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। डाक्टरहरूले थप २४ घन्टा निगरानी राख्नुपर्ने भनेका छन्। यद्यपि, उहाँहरूको अवस्था सुधार भइरहेको भए तापनि सङ्क्रमणको जोखिम रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

यसअघि बिहान राष्ट्रपति रामचन्द्र पौडेलले पनि अस्पतालमा पुगेर पौडेल र आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।