केआईआईटीबाट फर्किएका विद्यार्थीले फेरि कुटपिट हुने डरले अनुहार छोपेरै गरे पत्रकार सम्मेलन


काठमाडौं ।  भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीहरु विभिन्न मार्गहुँदै नेपाल आइपुगेर काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् ।

शुक्रबार आँखामा चस्मा, अनुहारमा मास्क र ज्याकेटको टोपी लगाएर विद्यार्थीहरुले पत्रकार सम्मेलन गरेका हुन् । फेरि कलेज फर्किँदा निर्मम कुटपिट हुने डरले ती विद्यार्थीहले आँखामा चस्मा, अनुहारमा मास्क र ज्याकेटको टोपी लगाएर पत्रकार सम्मेलन गरेका हुन् ।

उनीहरुले आफूहरुले सरकारबाट कुनै पनि आशा नगरेको र कलेजले यातना दिने भन्दै मास्क नखोल्ने र परिचय पनि नदिने बताएका थिए ।   केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि सिर्जित परिघटना हो यो । 

गत आइतबार भुवनेश्वरको पटिया क्षेत्रस्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा लम्सालको रहस्यमय मृत्यु भएपछि ५०० जना नेपाली विद्यार्थीहरुलाई निर्घात कुटपिट गर्दै विभिन्न रेल स्टेशनमा छोडिएको थियो । लम्सालको न्यायको लागि आन्दोलनरत विद्यार्थीहरुलाई तितरवितर पार्नको लागि छुट्टा–छुट्टै रेलवे स्टेशनमा छोडिएको थियो । होस्टेलमा कुटपिटमा परेका एक विद्यार्थीले चार दिन लगाएर स्वदेश फर्किएको बताए । उनले अन्य देशका विद्यार्थीहरु पनि त्यहाँ पढ्ने गरेको तर आफूहरु नेपाली भएकै कारण यस्तो अपमान सहनुपरेको बताए ।

“कलेजले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यो भिडियो त केही पनि होइन । शिक्षकहरुले नै आफूहरुलाई गुण्डा परिचालन गरेर कोठाभित्र थुनेर कुटपिट गरे । हामीहरु सुरक्षाका लागि कलेज प्रशासनसम्म पुगेका थियौँ । तर, आफैँलाई पढाएका गुरुहरु हामीविरुद्ध आइलागे । आफैँले पढाएका गुरुहरुबाट कुटिनुपर्ने भनेपछि हाम्रो आत्मसम्मान कहाँ रह्यो,” ती विद्यार्थीले भने ।

अर्का विद्यार्थीले आफूहरुलाई कलेज प्रशासनले पशुलाई जसरी कुटपिट गरेको बताए । 
“हामी पढ्ने विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको हो । त्यहाँ अष्ट्रेलिया, बंगलादेशलगायतबाट पनि विद्यार्थीहरु आउछन् । उनीहरुलाई राम्रै सम्मान छ । यसअघि त नेपाल हेपिएर बसेको थियो । अहिले यस्तोसम्म हुँदा पनि राज्य चुप लागेर बसेको छ,” उनले भने ।

नेपाल फर्किएका विद्यार्थीहरुले आफूहरुको पढाइको लागि सो विश्वविद्यालयमा फर्किनै पर्ने बाध्यता रहेको पनि बताए । तर, आफूहरु त्यहाँ सुरक्षित नभएको बताए ।