बाग्लुङमा पिकअप जीप दुर्घटना, २ जनाको मृत्यु, ५ जना घाइते


काठमाडौँ- बाग्लुङको बडिगाड गाउँपालिका-९ स्थित दर्लिङ खोलाको खहरे फुर्से धारामा आज साँझ एक पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु ३ च ५५६९ नम्बरको पिकअप जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा निसीखोला गाउँपालिका-७ का ७५ वर्षीय खड्क बहादुर कुँवर र ढोरपाटन नगरपालिका-५ का ३५ वर्षीय जुना कँडेलको मृत्यु भएको छ। उनीहरूको मृत्यु बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, दुर्घटनामा परेर बडिगाड गाउँपालिका–९ की ६३ वर्षीय तेज कुमारी बुढालाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ। अन्य घाइतेमा बडिगाड गाउँपालिका-९ की ५० वर्षीय निमसरा बुढा, ५२ वर्षीय यम कुमारी पौडेल, ३० वर्षीय सिता पौडेल र २३ वर्षीय हिमाल घर्ती रहेका छन्।

जीप सडकदेखि ५० मिटर तल खसेको थियो र यस दुर्घटनामा कुल ७ जना सवार थिए। पुलिस र आपतकालीन सेवाका कर्मचारीहरूले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्।