नायिका वर्षा राउतलाई सरप्राइजको रुपमा भित्राउँदै फिल्म ‘हर्ष’को छायांकन सुरु गरिएको छ । सुरुवातमा यो फिल्ममा नायिका आँचल शर्माले काम गर्ने पक्का भएको थियो ।
तर, आँचलले फिल्म ‘जेरीः अन टप’को छायांकन नसकेपछि उनले यो फिल्ममा काम गर्न सकिनन् । जसकाकारण, उनको ठाउँमा नायिका वर्षा राउतको प्रवेश भएको हो ।
आज बिहान ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभसाइत गरिएको यो फिल्मको छायांकन फागुनको १७ गतेबाट सुरु हुनेछ । फिल्ममा नायक खगेन्द्र लामिछानेको मुख्य भूमिका छ ।
साथमा फिल्ममा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको अभिनय रहनेछ । एकता पौडेलको निर्देशनमा यो फिल्म बन्न लागेको हो । एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भाञ्जी हुन् ।
यो फिल्मले पारिवारिक र सामाजिक कथा भन्नेछ । फिल्मको कथा एकताले नै लेखेकी हुन् । आलोक शुक्लाको छायांकन रहने यो फिल्ममा वसन्त सापकोटा र एलिस कार्कीको संगीत रहनेछ ।
लोकेश बज्राचार्यको सम्पादन रहने फिल्ममा सुनिल क्षेत्रीको कोरियोग्राफी रहनेछ । इ–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको व्यानरमा निर्माण हुने यो फिल्ममा प्रशन्न पौडेल र विकास पौडेलको लगानी छ । हिक्मत चोखल फिल्मका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया