दोलखामा हाइड्रोपावर कामदार मृत फेला परे


काठमाडौँ- दोलखा जिल्लाको नाशा हाइड्रोपावरमा कार्यरत २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका छन्। बजिन्द्र रोल्पाको सुनछहरी गाउँपालिका ३ का निवासी थिए। उनी १४ फागुनदेखि सम्पर्कविहीन थिए र मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए।

प्रहरीका अनुसार, बजिन्द्रको शव बिहीबार साँझ सवा ५ बजे खोजतलास गर्दै जाने क्रममा बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको हो। शव बाटोभन्दा करिब २ सय मिटर तल पनि फेला परेको भनिएको छ।

उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।