काठमाडौँ- मकवानपुरमा एक व्यक्तिले चोरी गर्न आएका बेला घरमा रहेका व्यक्तिहरूसँग भएको झडपमा चोर र घरधनी दुवै घाइते भएका छन्।
फागुन १५ गते राती करिब ८ बजे इन्द्र सरोबर गाउँपालिका वडा नम्बर ३, अदुवाबारीमा मीनबहादुर भ्लोन र उनकी श्रीमती देवी माया भ्लोन खाना खाइरहेका थिए, त्यही बेलामा एक अपरिचित व्यक्तिले घरमा प्रवेश गरी अचानक उनीहरूको आँखामा खुर्सानीको धुलो फ्याँक्दै चोरीको प्रयास गर्यो। खुर्सानीको धुलो छर्किएपछि भएको झडपमा घरधनी भ्लोन दम्पती र चोरी गर्न आएका व्यक्ती दुवै घाइते भएका छन्।
मकवानपुर प्रहरीका अनुसार, घरधनी मीनबहादुर भ्लोनको करङको हड्डी भाँचिएको, हात र ढाडमा चोट लागेको छ भने उनकी श्रीमती देवी माया भ्लोनको आँखा र हातमा चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको र उपचारका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
चोरी गर्न आएका व्यक्तिको अवस्था भने गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको र रगत जमेको कारण हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई चितवन पठाइएको छ। घटनापछि स्थानीय प्रहरी घटनास्थलमा पुगेर तीनैजनालाई उद्धार गरी अस्पताल पुर्याएका थिए।
घटनाको अनुसन्धान भइरहेको र चोरी गर्न आएका व्यक्तिको पहिचान हालसम्म खुलिसकेको छैन।
प्रतिक्रिया