रेबिज संक्रमित जनावर किनबेच गरेको आरोपमा वालिङबाट दुईजना पक्राउ


काठमाडौँ- वालिङ, २८ फरवरी – रेबिज रोगबाट संक्रमित घरपालुवा जनावर किनबेच गरेको आरोपमा वालिङ नगरपालिकाका ५५ वर्षीय राजेन्द्रबहादुर केसी र ५० वर्षीय शंसुद्धिन मिया पक्राउ परेका छन्।

प्रहरीका अनुसार, केसीले बिरामी भैँसीसहित पाडा, बाख्रा र पाठीगरी चारवटा जनावर मियालाई बिक्री गरेका थिए। बिक्री पछि भैंसी मरेको र त्यसमा रेबिज रोगका लक्षण देखिएको पुष्टि भएको छ। मिया जनावर खरिद गरेर मासुका लागि बजारतर्फ लैजाँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो।

वालिङ नगरपालिकाका पशु प्राविधिकहरूको भनाइ अनुसार मरेको भैंसीमा रेबिजको लक्षण देखा परेको थियो। मिया सवारी साधनमा जनावर लिएर वालिङ हुँदै भीरकोट नगरपालिकाको बयरघारीतर्फ जाँदै गर्दा पक्राउ परेका हुन्।

प्रहरीले खानतलासी गर्दा मरेको भैंसीसहित पाडो, बाख्रा र बाख्राको पाठीगरी चारवटा पशु भेटेका थिए।

पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक रोग फैलाउन नहुने कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान जारी छ। प्रहरीले मरेको भैंसीलाई व्यवस्थित रूपमा गाडेको र अन्य तीन पशुलाई केसीकी पत्नीलाई जिम्मा लगाइएको जनाएको छ।

साथै, मरेको भैंसीलाई केही दिनअघि कुकुरले टोकेको बताइएको छ।