‘आउटलः दफा २१९’को ट्रेलरमा सुशिलको दमदार एक्सन



अन्ततः दर्शकको प्रतिक्षाको घडी सकिएको छ । असोज ३ गतेबाट पोष्टपोन्ड भएर फागुनको २९ गते पुगेको फिल्म ‘आउटलः दफा २१९’को ट्रेलर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । ट्रेलर सार्वजनिक भएसँगै दर्शकमा यो फिल्मलाई लिएर उत्सुकता र मोह बढ्ने देखिएको छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ ।

विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन निर्देशन छ ।

यो फिल्ममा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।

फिल्मको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको फिल्ममा उनको काम पनि तारिफयोग्य देखिएको छ ।

फिल्मका केही संवादहरु रोचक र दर्शकको मनमा बस्ने खालका छन् । ‘यहाँ व्वासोहरु झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन् । तर, वाघलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन् । जस्तै ‘हिजोसम्म स्यालको सरकार देखेकी थिइस्, आज बाघको सरकार देखिस्’ भन्ने संवाद पनि हिट हुने देखिन्छ ।

नेपालमा यो वर्ष एक्सन कथाका फिल्मलाई रुचाइएको छ । यसैले, फरक शैलीको एक्सन र न्यायको कथामा बनेको यो फिल्मले पनि दर्शकको साथ पाउने विश्वास गर्न सकिन्छ ।