मनकामनामा माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १४ घाइते


गोरखा- मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको भ्यान दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ। गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११:३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा चितवन खैरहनी गाउँपालिका-२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका-२ कै रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा प्रहरीका अनुसार ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेका छन् ।