काठमाडौँ- विश्वका सबैभन्दा चर्चित ब्लड डोनर मध्ये एक जेम्स ह्यारिसनको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको निधन १७ फेब्रुअरीमा अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित नर्सिङ होममा भएको हो। ह्यारिसनको परिवारले सोमबार यो जानकारी दिएको हो। उनले जीवनभर रक्तदान गरेर २४ लाखभन्दा बढी बालबालिकाको ज्यान बचाएका थिए। अस्ट्रेलियामा उनलाई “सुनौलो हात भएको पुरुष” भनेर चिनिन्छ।
ह्यारिसनको रगतमा एक दुर्लभ एन्टिबडी थियो जसलाई “एन्टी डी” भनिन्छ। यस एन्टिबडीलाई गर्भमा रहेका बच्चाहरूलाई रगतमा सङ्क्रमणको जोखिम कम गर्नका लागि औषधि बनाउन प्रयोग गरिन्थ्यो। यो दुर्लभ एन्टिबडी ह्यारिसनको रगतमा १४ वर्षको उमेरमा भएको शल्यक्रियामा पत्ता लागेको थियो। त्यसपछि उनले रक्तदान गर्ने कसम खाए र १८ वर्षको उमेरदेखि रक्त प्लाज्मा दान गर्न सुरु गरे।
८१ वर्षको उमेरसम्म हरेक दुई हप्तामा उनले रक्तदान गर्दै आएका थिए। २००५ मा उनले सबैभन्दा धेरै रक्तदान गर्ने कीर्तिमान कायम गरे। तर, २०२२ मा यो कीर्तिमान एक अमेरिकी पुरुषले तोडे। ह्यारिसनकी छोरी ट्रेसी मेलोशिपले भनेकी छिन्, “मेरो पिताले लाखौँ शिशुको जीवन बचाएकोमा उनी सधैँ खुसी थिए।”
एन्टी-डी के हो?
एन्टी-डी एक प्रकारको सप्लिमेन्ट हो जसले नवजात शिशुहरूलाई हेमोलाइटिक रोगबाट बचाउँछ। यो रोग गर्भमा आमाको रगत र भ्रूणको रगतको मेल नखाँदा उत्पन्न हुन्छ, जसका कारण आमाको प्रतिरक्षा प्रणाली भ्रूणको रगतलाई आक्रमण गर्न थाल्छ। यसको परिणामस्वरूप गर्भमा रहेका बच्चामा रक्तअल्पता, हर्ट फेलियर जस्ता समस्याहरू उत्पन्न हुनसक्छ, र अझ गंभीर अवस्थामा मृत्यु समेत हुन सक्छ। एन्टी-डी सप्लिमेन्टले यस समस्याबाट शिशुलाई बचाउँछ।
प्रतिक्रिया