काठमाडौं- काठमाडौंको थापाथली चोक नजिक मेलम्ची खानेपानी परियोजनाको पाइप फुटेर उक्त क्षेत्र जलमग्न भएको छ। आज बिहान पाइप फुट्दा सडक र नजिकका घर तथा पसलमा पानी पसेको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले पाइपको फुटको कारण पत्ता लगाई मर्मतको तयारी भइरहेको जानकारी दिएका छन्। उनले भने, पाइप फुटेर क्षति भएको छ। के कारणले पाइप फुटेको हो, त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ।
पाइप फुटेको स्थान थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल जाने सडकमा रहेको छ, जहाँ पानीका कारण सडक अवरुद्ध भएको छ। यस क्षेत्रमा पहिले पनि मेलम्ची पाइपको कारण जलमग्न अवस्था आएको थियो। नेपाल विद्युत प्राधिकरणले बबरमहल क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेर बबरमहल जलमग्न भएको थियो।
यसपछि, विभिन्न स्थानमा पानी चुहावटको समस्या बढिरहेको छ। काठमाडौं उपत्यकामा केही स्थानहरूमा खानेपानीको अभाव छ भने अन्य ठाउँमा पाइप चुहावटका कारण सडक र गल्ली हिलाम्मे भएका छन्। यसले सरकारी कार्यालयहरू, जस्तै वन परिसर, विशेष अदालत र काठमाडौं जिल्ला अदालतलाई पनि असर गरेको छ।
थापाथली चोक नजिकको पाइप फुटको विषयमा अब छानबिन गरिने भएको छ।
प्रतिक्रिया