काठमाडौँ- हृदयाघातपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ। अस्पतालका प्रवक्ता अजय मिश्राले जानकारी दिएका अनुसार, पारस शाहको अवस्था निकै सुधारिएको छ र मंगलबारदेखि उनलाई प्राइभेट वार्डमा सारिएको छ।
पारस शाहको हृदयाघात पटक पटक बल्झिने समस्या भएकोले, उनी हाल चिकित्सकको विशेष निगरानीमा राखेर केही दिन अस्पतालमै उपचार गरिने बताइएको छ। पारसको उपचार डाक्टर यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले गर्दैछन्।
पारस शाहलाई आइतबार राति हृदयाघात भएपछि तत्काल सहयोगीहरूले उनलाई नर्भिक अस्पतालमा ल्याएका थिए, जहाँ उनको मुटुमा स्टेन राखिएको थियो। त्यसपछि उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको थियो र मंगलबार उनलाई वार्डमा सारिएको हो।
यो पारस शाहलाई भएको चौथो हृदयाघात हो। यसअघि २०७५ माघ महिनामा पनि उनको हृदयाघात भएको थियो, त्यतिबेला पनि उनले नर्भिक अस्पतालमा उपचार गरेका थिए। त्यस्तै, थाइल्यान्डमा र अर्को एकपटक पनि हृदयाघातको समस्या देखिएको थियो।
प्रतिक्रिया