‘होस्टेल ३’का नयाँ अनुहारलाई अनमोलको सुझाव–‘उदाउ र शासन गर’



नेपाली फिल्म क्षेत्रमा नायक अनमोल केसी ‘होस्टेल’बाट उदाएका हुन् । यो फिल्मपछि अनमोलले पछाडि फर्किएर हेर्नु परेको छैन । निरन्तर रुपमा अनमोलले फिल्म क्षेत्रमा शासन गरिरहेका छन् । अहिले त उनलाई ‘मेगास्टार’ पनि भनिन्छ ।

आजबाट देशभरका २ सय पर्दामा फिल्म ‘होस्टेल ३’ लागेको छ । यो फिल्म रिलिज भएपछि नायक अनमोल केसीले सामाजिक संजालमा शुभकामना दिएका छन् ।

अनमोल प्राय फिल्मलाई सामाजिक संजालबाट शुभकामना दिने नायकमा पर्दैनन् । तर, आफूले डेब्यू गरेको फिल्म भएका कारण पनि उनले नयाँ अनुहारहरुलाई शुभकामना दिएका हुन् । अनमोलले सबै कलाकारहरुलाई फिल्म क्षेत्रमा उदाएर शासन गर्न भन्दै शुभकामना दिएका छन् ।

सशान कँडेलको निर्देशनमा तयार भएको यो फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, सिम्रन पन्त, आशिष घिमिरे, हेना नगरकोटी, आशिष घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्म क्षेत्रमा उदाउँदै गरेका यी कलाकारहरुबाट फिल्म क्षेत्रले पनि ठूलो आशा गरेको छ ।