ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीलाई एयरपोर्ट गएर पूर्वराजाको स्वागत गर्न आग्रह


राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई यस्तो आग्रह गर्दै भने, कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत गर्न किन नहुने?”

शाहीले लेखेका छन्, “सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौँ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। राजा सबैका साझा हुन्, प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।

उनले आफ्नो पोस्टमा १६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पनि गाउँगाउँमा छोटे राजाहरू रहेका र ८० लाखभन्दा बढी युवाहरू विदेशमा काम गर्न बाध्य रहेको उल्लेख गरेका छन्। उनले उद्योग र कलकारखाना बन्द भएको, निःशुल्क स्वास्थ्य र शिक्षा सुविधाहरू बेचिएको, र भ्रष्टाचारको जाँच नगरेको आरोप पनि लगाए।

शाहीले सरकारलाई चेतावनी दिँदै भने, जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा नगर्नुहोस्, र त्यहाँ भ्रष्टाचारीहरूको प्रभावको बारेमा थप ध्यानाकर्षण गराए।