मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाका कारण नेपालबाट राजतन्त्र गएको आरोप लगाएका छन् । मंगलबार आफ्नै निवास भक्तपुरमा युट्युबर सम्मेलनको आयोजना गर्दै विवादित मेडिकल व्यवसायी प्रसाईले सो आरोप लगाएका हुन् ।
गत आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरुले भव्य स्वागत गरेका थिए । पूर्व राजालाई स्वागत गर्ने अभियानका अग्रभागमा रहेर खटिएका प्रसाईले उक्त अभियान लगत्तै आफ्नै निवासमा एक हुल युट्युबर बोलाएर सम्मेलन गराएका हुन् । उनले युट्युबर सम्मेलनमा कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था नजाने ठोकुवा पनि गरेका छन् ।
“कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,” उनले भने, “अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?”
आफूहरुले माहोल बनाएपछि थापा र लिङ्देन ढोक्सा थाप्न आईपुगेको उनको आरोप छ । उनले आफू कलियुगको अर्जुन भएको हुँदा आफूलाई कमजोर नआक्न पनि चेतावनी दिएका छन् । “चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुपर्यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न,” उनले भने, “राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ? । मलाई कमजोर नआँक्नु” ।
प्रसाईले राजालाई सडकमा ल्याउने तागत आफूबाहेक अरु कोहीसँग नभएको पनि दाबी गरेका छन् । मूलधारका मिडियामाथि खनिँदै प्रसाईले ती मिडियाले निरन्तर पेल्दा पनि आफूले राजालाई सडकमा ल्याएरै छाडेको जिकिर गरे । “पूर्वराजालाई कसैले सडकमा ल्याउन सकेको थिएन, मैले ल्याएँ,” उनले भने, “तीन वर्षअघि यो अभियान चलाउँदा १२ भाइ मिडियाले खेदो पनि खने । गोरुगाडा चढेर अमेरिका जान लागेको भनेर आलोचना गरे ।”
उनले राजतन्त्र फर्काएबापत आफूलाई कुनै पनि लोभ नभएको बताए । कुनै लोभका कारण केही पाईएला भनेर राजतन्त्र फर्काउन नखोजेको उनको दाबी छ । ‘मलाई कुनै पनि कुराको लोभ छैन् । केही पाईएला भनेर यो अभियानमा म लागेको हाइन् । भोलि प्रधानमन्त्री बन्नुपर्यो भने जनताले मत दिएर बनाउने हुन् । राजाले होइनन् । यो कुरा पनि हेक्का रहोस् सबैलाई । मैले तीन वर्षदेखि सर्वहार वर्ग, उत्पिडनमा परेका भूईमान्छेहरुको मागहरु उठाएर हिँडेको मान्छे हुँ’ उनले भने ।
प्रसाईले नेपालका सबै नागरिकलाई २० लाखसम्मको ऋण मिनाह गराउने आफ्नो पहिलो उदेश्य रहेको दाबी गरेका छन् । लघुवित्त, सहकारी र बैंकले घरबारविहीन बनाएकाहरुको घरजग्गा फिर्ता गराउनका लागि आफूले यो अभियान सञ्चालन गरिरहेको उनको दाबी छ ।
प्रतिक्रिया