आर्यन, दया र खगेन्द्रको ‘महाभोज’ जेठ १५ बाट रिलिजमा आउने



आउँदो वर्षको जेठ महिनामा एक नयाँ फिल्म रिलिज हुने पक्का भएको छ । जेठको १५ गतेबाट फिल्म ‘महाभोज’ रिलिज हुने पक्का भएको हो । फिल्म ‘पुजार सार्की’ निर्देशन गरेका निर्देशक दिनेश राउतले यो फिल्मलाई निर्देशन गरेका हुन् ।

गणतन्त्र दिवसको अवसर पारेर फिल्म रिलिज गर्न लागिएको निर्माता हिमाल कडरियाले जानकारी दिए । सार्वजनिक पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले समाजमा देखिएको आर्थिक असमानताको कथा भन्ने अनुमान गर्न सकिन्छ । पोस्टरमा नायकत्रय आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने र नायिकात्रय अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङलाई देख्न सकिन्छ ।

उनीहरुको अनुहारमा पीडा, आक्रोश र गम्भिर भाव देखिन्छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा वसुन्धरा भुषाल, मोहन निरौला, वुद्दि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, विरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरुको अभिनय छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । विकास सुवेदीको स्क्रिप्ट रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।