काठमाडौं, १ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित ४ दल आवद्ध समाजवादी मोर्चाको बैठकले आगामी चैत १५ गते बृहत् विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो । समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, महिन्द्रा राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
१५ गते विरोध सभा र विरोध प्रदर्शनको कुरा छ । त्यसलाई भव्य बनाउने, हजारौं जनताको सहभागितालाई सुनिश्चित गर्ने र अहिले जसरी प्रतिगामी कदम र हर्कतहरु बढिराखेका छन्, त्यसलाई असफल गर्नेगरी १५ गतेको कार्यक्रमलाई सफल बनाउने निर्णय गरिएको छ,’– बैठकको निर्णय सार्वजनिक गर्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भने ।
मोर्चाले अहिले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको र विषय एकदमै गम्भीर रहेको निष्कर्ष निकालेको छ । विरोध प्रदर्शनको कार्यक्रमअघि मोर्चाले भोलि बिहान ११ बजेदेखि बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दैछ । अन्तरक्रियापछि मोर्चाले पत्रकार सम्मेलन आयोजना गरेको छ । भोलिको दुवै कार्यक्रम कुपण्डोलस्थित होटल हिमालयनमा हुँदैछ ।
‘अस्ति हामीले कार्यक्रमको बारेमा केही सोचेका थियौं र केही भनेका पनि थियौं । ती कार्यक्रमलाई भोलि अगाडि बढाउने सोचिएको छ । भोलि विहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँगको अन्तरक्रिया र उहाँहरुसँगको परामर्श सुरु हुने छ । दुई साढे दुई घण्टासम्म त्यो कार्यक्रम चल्छ,’– नेता विश्वकर्माले भने ।
संसद्वादी दल र संसदीय राजनीतिभन्दा बाहिर रहेका दलहरुसँग पनि छलफल बढाउने, भेटघाट र वार्तालाई अगाडि बढाउने निर्णय भएको पनि उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको वक्तव्य र त्यसपछि उनी पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरुले बनाएको माहोललाई लिएर दलहरु आत्तिएका छन् । देशमा प्रतिगमनको खतरा बढेको दलहरुको निष्कर्ष छ ।
प्रतिक्रिया