फिल्म ‘आउटलः दफा २१९’ हेरेका अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरेका छन् । कतिपयले त नेपाली फिल्ममा पहलो पटक यो तहको एक्सन हेर्न पाएको भन्दै खुशी व्यक्त गरे । यस्तो एक्सन हेरेपछि साउथ र बलिउडको फिल्म किन हेर्नुपर्यो भन्ने प्रतिक्रिया दर्शकको थियो ।
विहिबारबाट रिलिजमा आएको यो फिल्मलाई लिएर यसको टिम पनि उत्साहित छ । विहिबार दिनभर फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए ।
फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे ।
फिल्म हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्–‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । फिल्मको हरेक कुराले मन छोयो । आउटल एउटा उत्कृष्ट फिल्म हो ।’
काठमाडौं बाहिरका दर्शकले पनि फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मको कथावस्तुले महिलाको कथा उठाएको छ । साथमा, फिल्मको सस्पेन्स पाटो पनि गज्जब रहेको दर्शकको भनाई छ ।
फिल्म हेर्न हल पुगेका कलाकार गजित बिष्टले भने–‘सुरुवातको १० मिनेट फिल्म केही स्लो छ । यसपछि फिल्मले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ । एक्सन त गज्जब नै छ । एक्सन मन पराउने दर्शकका लागि यो फिल्म विशेष हुनसक्छ ।’
दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए । उनले भने–‘मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ । आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु ।’
फिल्मका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे ।
प्रतिक्रिया