चैत १५ गते राजधानीमा गणतन्त्रवादी र राजावादीबीच मुठभेडको खतरा


काठमाडौं । नेपालमा चैत महिनालाई आन्दोलनको महिना भनेर चिन्ने गरिन्छ । २०४६ सालको आन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलनको शंखनाध चैतमै भएको थियो । त्यसैले पनि चैतलाई परिवर्तनकारी शक्तिले आन्दोलनको महिना मान्ने गरेका हुन् ।

परिस्थितिले यसपटक राजावादी शक्तिले चैतमा राजतन्त्र पुनःस्थापनाको आन्दोलनको शंखनाध गरेका छन् । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा उनको स्वागतमा १५ हजारभन्दा बढी मानिस भेला भएपछि हौसिएका राजावादी शक्तिले २०८१ साललाई गणतन्त्रको अन्तिम वर्ष भनेर चेतावनी थालेका छन् । सोही कारण अहिले उनीहरू दिनहुँजसो सडक ततारहेका छन् ।

राजावादी शक्ति आन्दोलित भएपछि गणतन्त्रवादी शक्तिहरूले पनि त्यसको प्रतिवाद गर्ने भएका छन् । माओवादी, एकीकृत समाजवादीलगायतका दलहरूले राजावादीको आन्दोलनलाई निस्तेज बनाउने भन्दै सडकबाटै प्रतिवाद गर्ने घोषणा गरेका छन् । त्यसैल प्रचण्ड नेतृत्वको माओवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपा सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएका छन् । गणतन्वादीको यो निर्णयलाई चुनौती दिँदै दुर्गा प्रसाईले चैत १५ गते विशाल प्रदर्शन गर्ने घोषणा गरेका छन् । जसकारण गणतन्त्रवादी र राजावादीबीच मुठभेडको सम्भावना देखिएको हो ।

मोर्चाले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने घोषणा गरेको थियो । मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध प्रदर्शन आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रदर्शनका लागि मोर्चाले आफ्ना भातृसंगठन अन्तर्गतका कमिटीहरूलाई जिम्मा दिइसकेको छ । पछिल्लोसमय मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिएको हो ।

मोर्चाले प्रदर्शन तय गरेको चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईले समेत काठमाडौंमा पूर्वराजाको पक्षमा आन्दोलन गर्ने घोषणा गरेका छन् । सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउन समेत उनले अपिल गरेका छन् ।
‘अब निर्णायक समय आउँदै छ, तयार रहौँ । यही चैत १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति एक हौँ,’ प्रसाईले सामाजिक सञ्जालमा लेखेका छन् । उनले प्रदर्शनका लागि सम्पूर्ण बैंक, सहकारी, लघुवित्तपीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ताहरूलाई अपिल गरेका छन् । प्रसाई एक्लै अहिले सडकमा पाँच–सात हजारको भिड जुटाउन सक्ने ल्याकत राख्छन् । सुरक्षा संयन्त्रहरूले पछिल्लोसमय पूर्वराजा समर्थकहरूको गतिविधिलाई सूक्ष्म ढंगले निगरानी गरिरहेको जनाएको छ ।