काठमाडौं । नेपालमा फेरि पनि लोडसेडिङ हुने भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नै यसबारे जानकारी गराएका छन् ।
बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताए । ‘अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग एक हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भने ।
आठ वर्षअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै पहलमा देश लोडसेडिङमुक्त भएको थियो । प्राधिकरणमा अहिले पनि घिसिङ नै कार्यकारी निर्देशक छन् । तर उनलाई हटाउन अहिलेको सरकार जोडबल गरिरहेको छ । सरकारले ६ महिनामा ६ चोटि उनलाई स्पष्टीकरण सोधिसकेको छ । कुलमान हटाएर निजी क्षेत्रको रजगज चलाउन देशलाई लोडसेडिङको चक्रब्युहमा धकेल्न खोजिएको आमजनताको भनाइ छ ।
ऊर्जामन्त्री खड्काले भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको दाबी गरे । उनले कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको पनि बताए । ‘निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ। उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,’ उनले थपे, ‘बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ ।’ कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए।
खड्काले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको र भारतबाट ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए । ‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपुर्ति हुन सकेको छैन। हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ‘हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ ।’
मन्त्री खड्काको यस्तो अभिव्यक्तिले नेपालमा केही समयभित्रै फेरि लोडसेडिङको तालिका निस्कने सम्भावना देखिँदै गएको छ । कुलमान आउनुभन्दा अघिसम्म नेपालमा १८ घन्टासम्म लोडसेडिङ हुने गथ्र्यो । तर उनले चुस्त व्यवस्थापन गरेर लोडसेडिङ हटाएका थिए । लामो समयसम्म लोडसेडिङ हुँदा देशका उद्योग कलकारखाना बन्द हुन पुगेका थिए भने ब्याट्री, जेनेरेटर व्यापारीले कुस्त कमाएका थिए ।
प्रतिक्रिया