काठमाडौं – भनिन्छ पैसाका अगाडि जस्तोसुकै विद्वान र बहादुर पनि झुक्छ । यस्तै दृश्य देखिएको छ सर्लाहीको बरहथवा नगरपालिकामा । त्यहाँ माओवादी, एमाले, कांग्रेसका स्थानीय नेतालाई एकजना करोडपति व्यवसायीले कसरी फनफनी घुमाएका छन् भन्ने विषय निकै रोचक र घतलाग्दो छ ।
बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको वासुदेव उपाध्यायको अर्धकदको शालिक विवादमा परेपछि यो विषयले ठूला तीन दलका स्थानीय नेता कार्यकर्ताको चरित्र उदांगो भएको छ । सरस्वती माविका पूर्वविद्यार्थीसमेत रहेका नवराज आचार्यलाई काठमाडौ बसेर मनग्य पैसा कमाएपछि दिवंगत हजुरबुबाको शालिक आफैंले पढेको स्कुल परिसरमा राख्न रहर लाग्यो । त्यसअघि उनले स्कुल हातामा सरस्वती मन्दिर र मूर्ति स्थापना गरेका थिए । जसमा मावलीपट्टिका हजुरबुबा र हजुरआमाको नाम राखिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञबहादुर खड्कासहित वर्तमान र पूर्वपदाधिकारीसँग उनले हजुरबुबाको शालिक राख्न चाहेको रहस्योद्घाटन गरे । तर स्कुल व्यवस्थापन समितिका पदाधिकारीले सुरुमा नाइँ नाइँ भने । सुरुमा हुन्न भने पनि आचार्यले विभिन्न प्रलोभन र आश्वासन देखाएर स्कुल हातामा शालिक स्थापना गरे ।
यो कुरा सार्वजनिक भएपछि चौतर्फी आलोचना भयो । स्थानीयवासी र स्कुलका पूर्वविद्यार्थीले शालिक हटाउन विभिन्न माध्यमबाट आवाज उठाउन थालेपछि आचार्यले स्थानीय दलका नेता कार्यकर्तालाई नै आफ्नो वशमा पारेका छन् ।
स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक हटाउने विषयमा माओवादी, एमाले र कांग्रेसका नेताहरू तैं चुप मै चुपको अवस्थामा छन् । आचार्यले घरघरमा पुगेर आश्वासन टक्र्याएपछि सुरुमा विरोध गर्नेहरूको मुख अहिले टालिएको छ ।
हालै बसेको सर्वदलीय बैठकमा शालिक हटाउने विषयमा सरोकारवाला पक्षका केहीले बोले पनि हजरियाका स्थानीय नेताहरू अहिले उनीहरूको मुख थुन्ने अभियानमा लागेका छन् । यस्तो कार्यमा एमालेका केहि मै हु भने नेताहरु ,र माओवादीका नगर कमिटीका केही सदस्य र काठमाडौं बस्दै आएका पार्टी प्रतिनिधिसमेत सहभागी छन् ।
यदि कांग्रेस, एमाले र माओवादीका नेताहरुले हुन्न भनेमा एक मिनेट पनि त्यो शालिक स्कुल हातामा रहन्न । तर आचार्यले उनीहरूलाई यसरी फनफनी घुमाएका छन् कि त्यस विषयमा बोल्ने आँट नै गर्न सकेका छैनन् । बरु देशभरका मिडियामा आएका समाचार रोक्न उनीहरू लागिपरेका छन् ।
शालिकको विषयबारे बोल्न बरहथवा नगरपालिका नेतृत्वसमेत डराएको छ । मेयर कल्पना कटुवालले यो विषय धेरै नउछाल्न अनुनय विनय गर्न थालेकी छन् । एमालेमै एउटा पक्ष शालिक हटाउनुपर्ने पक्षमा छ । तर एमालेमा रेवती पन्त गुटका स्थानीय नेताहरु भने जसरी पनि शालिक राख्नैपर्ने अडानमा देखिएका छन् । उनीहरूलाई माओवादीको बलियो साथ र सहयोग देखिएको छ ।
थप समाचार
पैसाका अगाडि एमाले नेताहरूको बोली बन्द, सरस्वती माविमा असम्बन्धित व्यक्तिको शालिक राख्न सहीछाप
सरस्वती माविमा पैसाकै बलमा हजुरबुबाको शालिक स्थापना, स्थानीयको आपत्ति
सरस्वती माविमा राखिएको शालिक प्रकरणले उग्र रुप लिँदै, डाकियो सर्वदलीय बैठक
प्रतिक्रिया