काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा राखिएको वासुदेव उपाध्यायको अर्धकदको शालिक हटाउन विद्यालय व्यवस्थापन समितिकै बैठकले आग्रह गरेको पाइएको छ । २०८१ फागुन २८ गते बसेको समितिको बैठकको निर्णय नम्बर ५ मा जबर्जस्ती ढंगले शालिक राखिएको भन्दै अन्यत्रै सार्न आग्रह गरिएको थियो ।
‘प्रस्ताव नं. ५ माथि छलफल गरी यस श्री सरस्वती मा.वि. हजरिया, बरहथवा–३, सर्लाहीमा विद्यालय व्यवस्थापन समितिको निर्णयविपरीत विद्यालय हाताभित्र शालिक स्थापना गरेकाले त्यस शालिकलाई विद्यालय हाताभित्र अन्यत्र व्यवस्थापन गर्नको लागि सम्बन्धित व्यक्तिलाई अनुरोध गर्ने निर्णय गरियो,’ निर्णयमा भनिएको छ । तर अहिले विद्यालय व्यवस्थापन समितिले भनेअनुसार नै स्थापना गरिएको भन्दै व्यवसायी नवराज आचार्यसहितको एउटा समूह स्थानीयलाई भ्रम छर्न लागिपरेको छ । उनलाई हजरियाका माओवादी र एमालेका केही नेता कार्यकर्ताले साथ दिएका छन् । हजरियाको ठूलो पंक्ति शालिक तत्काल हटाउनुपर्ने पक्षमा देखिएको छ ।
मन्दिर भवन निर्माणपछि सरस्वती मन्दिरको मूर्ति स्थापना गरेको केही वर्षपछि आचार्यले त्यहीँ हजुरबुबाको शालिक स्थापना गरे । आचार्यको एकल निर्णयप्रति हजरियामा आलोचना भयो । चौतर्फी आलोचना भएपछि विद्यालय व्यवस्थापन समितिले शालिक हटाउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय सञ्चालक समितिको बैठकबाटै गरेको हो । तर विद्यालय सञ्चालक समितिको बैठकप्रति आपत्ति जनाउँदै आचार्यले शालिक हटाउने भए सरस्वती मन्दिर पनि भत्काएर अन्तै लैजाने धम्की दिन थालेका हुन् ।
अहिले आचार्यलाई शालिक हटाउन दिँदैनौं भनेर त्यहीँका माओवादी नेता कार्यकर्ता र एमालेको रेवती पन्त गुट लागिपरेको छ ।
कतिसम्म भने शालिक राखिएको विषयमा निरन्तर लेख्दै आएका पत्रकारमाथि पनि स्थानीय माओवादी नेता कार्यकर्ताले धाकधम्की दिन थालेका छन् । स्कुलसँग कुनै साइनो नै नभएका उपाध्यायको शालिक हटाउनुपर्ने सरस्वती माविका अधिकांश अभिभावक र पूर्वविद्यार्थीहरूको माग छ । तर त्यसलाई इन्कार गरिँदै आएको छ ।
सोही स्कुलमा अध्ययन गरेका र हाल काठमाडौंमा बस्दै आएका एक पूर्वविद्यार्थीले शालिक हटाएर देखाउनेलाई आफ्नो दुई बिघा जग्गा नै पास गरिदिने चुनौती दिए । सरस्वती माविसँग कुनै सम्बन्ध र साइनो नै नभएका वासुदेव उपाध्यायको शालिक राखिएपछि अहिले विभिन्न व्यक्तिले आफूहरूको दिवंगत बाबुआमाको शालिक स्कुल परिसरमा राख्न पाउनुपर्ने माग गर्न थालेका छन् ।
प्रतिक्रिया