आफ्ना नेतामाथि अनुशासनको कारबाही शेखर समूहले नमान्ने


काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ । बिहीबार बिहान कांग्रेस नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको सो समूहका नेताहरूको बैठकले पार्टीको अनुशासन आयोगले नेताहरूलाई गरेको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो ।

कांग्रेस सांसद राजेन्द्र बजगाईले उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने विधानले भने पनि त्योअनुरूप नभएको भन्दै वैधानिक नभएको निष्कर्ष निकालेको जानकारी दिए । बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरु बलबहादुर केसी, सञ्जय गौतमलगायत सहभागी थिए ।

कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल पूर्वमन्त्री कुमार खड्का, खोटाङ कांग्रेस सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बासहितका १७ जनालाई अनुशासनको कारबाही गरेको थियो। संस्थापन पक्षले बहुमतको आधारमा आफ्नो समूहका नेतालाई मात्रै कारबाही गरेको भन्दै इतर समूह असन्तुष्ट छ। अनुशासन समितिमा संस्थापन पक्षका संयोजक ढुंगाना, ईश्वरी न्यौपाने र ध्रुव वाग्लेसहित तीनजना र इतर समूहका राजीव कोइराला र सञ्जय गौतम गरी दुईजना छन्।