गुट्खा थुक्ने क्रममा बिजुलीको तारमा छोइएपछि वृद्धको मृ-त्यु


मध्य प्रदेश । भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा ११ हजार भोल्ट क्षमताको उच्च विद्युतीय प्रसारण लाइनको करेन्ट लागेर ६५ वर्षीय वृद्धको मृत्यु भएको छ। भाडाको घरको तेस्रो तलाको बार्दलीबाट गुट्खा थुक्ने क्रममा उच्च भोल्टेजको तारमा छोइएपछि प्रभु लाल गुप्ताको घटनास्थलमै मृत्यु भएको हो।

भारतीय पत्रिका दैनिक जागरणका अनुसार घटना शुक्रबार गन्ज बासोदास्थित गायत्री नगरमा भएको हो। गुप्ता बार्दलीबाट गुट्खा थुक्ने क्रममा नजिकै रहेको ११ केभीको विद्युत् प्रसारण लाइनको सम्पर्कमा पुगेका थिए। करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। छतरपुरका मूल बासिन्दा गुप्ता विगत १० वर्षदेखि गन्ज बासोदामा भाडाको घरमा बस्दै आएका थिए। उनी पेसाले मेकानिक रहेको जनाइएको छ।

उच्च क्षमताको तार घरनजिकै रहेको भन्दै स्थानीय आक्रोशित

वृद्धको मृत्यु भएपछि स्थानीय बासिन्दाले आवासीय क्षेत्रनजिकैबाट गएको उच्च क्षमताको विद्युत् प्रसारण लाइनको सुरक्षाबारे प्रश्न उठाएका छन्। घरहरूसँगै टाँसिएर गएको ११ केभीको तार हटाउन पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीहरूको आरोप छ।

घटना भएको घरकी घरधनी पद्मा चिधरका अनुसार उनले घरनजिकै रहेको हाइटेन्सन लाइन हटाउन विद्युत् कम्पनीका अधिकारीहरूलाई पटक–पटक निवेदन दिएकी थिइन्। अधिकारीहरूले तार चाँडै हटाउने आश्वासन दिए पनि लामो समयसम्म कुनै कदम नचालिएको उनले बताएकी छन्।

स्थानीयका अनुसार आवासीय क्षेत्रमा रहेका यस्ता विद्युत् लाइनको नियमित मर्मतसम्भार र सुरक्षाका उपायमा पर्याप्त ध्यान दिइएको छैन। पटक–पटक उजुरी गर्दा पनि समस्या समाधान नभएको उनीहरूको गुनासो छ।

घटनापछि स्थानीयले आवासीय बस्तीबाट उच्च क्षमताका विद्युत् तार हटाउन तथा सम्भावित दुर्घटना रोक्न आवश्यक सुरक्षा व्यवस्था गर्न माग गरेका छन्।