काठमाडौं – एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । भण्डारीले पूर्वउपाध्यक्षका रूपमा एमालेमै रहेर सक्रिय बन्ने घोषणा गरेसँगै झस्किएका ओली अहिले निरन्तर बालुवाटारमा छलफलमा छन्।
आफूनिकट पार्टी केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएर उनले छलफल गरिरहेका छन्। उनलाई महासचिव शंकर पोखरेलले साथ दिएका छन् । पोखरेलको बास नै बालुवाटार हुने गरेको छ । उनले पार्टीका जनवर्गीय संगठनका नेताहरू, प्रदेश इन्चार्जसँग बालुवाटारमै छलफल गर्दै आएका छन् ।
शनिबार प्रधानमन्त्री ओलीले सुदूरपश्चिम र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतामा रोक लगाउने निर्णय गरे पनि उनी रोकिएकी छैनन्।
भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेर मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर ४५ वर्षअघि मदन भण्डारीले दिएको पार्टी सदस्यता खोस्न नसक्ने कडा अभिव्यक्ति दिएकी थिइन्। पार्टीले गरेको यस्तो निर्णय संविधानप्रदत्त मौलिक हकको खिलाफ रहेको बताउँदै नागरिक भइसकेको व्यक्तिको पार्टी सदस्यता खोस्न नमिल्नेसमेत जिकिर गरेकी थिइन्।
पूर्वराष्ट्रप्रमुखको प्रतिष्ठा दाउमा राखेर राजनीतिमा उत्रिएकी भण्डारी अब कुनै पनि हालतमा नरोकिने देखेका ओलीले केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण गर्न र तलतल ध्रुवीकरण हुन नदिन रणनीतिक हिसाबले लागेका हुन्। ओलीले भण्डारीले आफूसँग सल्लाह नै नगरी एक्कासि पार्टीमा सक्रिय हुने घोषणा गरेको बताएका थिए।
‘उहाँलाई पार्टीले निर्णय गरेर राष्ट्रपतिमा पठाएको हो। त्यहाँबाट फर्किएपछि उहाँले पार्टीमा फर्कनेबारे कुनै सरसल्लाह गर्नुभएन। पार्टी कार्यालय पनि आउनु भएन। एकैचोटि पार्टीमा फर्कने घोषणा पो गर्नुभयो,’ ओलीको भनाइ थियो ।
केन्द्रीय सदस्यसँगको भेटमा ओलीले आफूले पूर्वराष्ट्रपति भण्डारीको आलोचना नगर्ने पनि बताए। ‘मैले कहिल्यै उहाँको आलोचना गरेको छैन। गर्न पनि मन छैन। राष्ट्रपति हुँदा राम्रै कार्यसम्पादन गर्नुभएको हो। पार्टीमा फर्कन मिल्दैन भन्ने पार्टीको कुरा हो,’ उनले भने।
ओलीले भण्डारीले पत्रकार सम्मेलनमार्फत् ‘हुलहुज्जत गरेर मेरो सदस्यता खोस्ने काम भयो’ भनेकामा आपत्ति जनाएका थिए। बरू पूर्वराष्ट्रपति आफै पत्रकार सम्मेलन गर्ने जस्ता गतिविधि गरेर हुलहुज्जतको शैलीमा प्रस्तुत भएको ओलीले बताएका थिए। उनले पार्टी निर्माणको इतिहासमा ठुल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले कुनै असर नपार्ने बताएका थिए।














प्रतिक्रिया