कुलिङ पिरियड हेरफेरमा ओली, देउवा र प्रचण्डसँग बयान लिइँदै


काठमाडौं – संघीय निजामती विधेयकमा रहेको कुलिङ अफ पिरियडको प्रावधान गडबडीमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै बयान लिइने भएको छ ।

संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री तीन नेतालाई छलफलमा बोलाउने भएको छ । तीनजना नेतासँग भेटेर सोध्ने गरी प्रश्नसमेत तयार गरिसकिएको छ । कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ ? यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ? भन्ने प्रश्न तयार गरिएको छ ।

शीर्ष नेताले कुलिङ पिरियडबारे जे धारणा दिन्छन्, त्यसले राष्ट्रिय सभालाई समेत सघाउने छानबिन समितिको विश्वास छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि राजीनामा वा अवकाशपछि दुई वर्ष कुलिङ पिरियड लागु हुने गरी विधेयक पारित गरेको थियो । तर, विधेयकमा कुलिङ पिरियडको प्रावधान नै निष्क्रिय हुने भाषासमेत परेको भनेर प्रश्न उठेपछि छानबिन गर्न प्रतिनिधि सभाले कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा समिति गठन गरेको हो ।

समितिमा कांग्रेसका सांसदहरूपरियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य,

माओवादीबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा विचाराधीन छ । पारित भएको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निष्क्रिय हुने प्रावधान रहेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएर छलफल गरिरहेको छ । राष्ट्रिय सभामा कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर एमालेले संशोधन हालेको छ ।