काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई महाअभियोग लगाउनुपर्ने माग संसदमा उठेको छ ।
कांग्रेस सांसद कमला पन्तले मुलुकको मुख्य समस्या सुशासनको अभाव भएको उल्लेख गर्दै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको टिप्पणी गरेकी छन्।
राष्ट्रिय सभाको आइतबारको बैठकमा पन्तले दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय प्रक्रियामा संलग्न आफ्ना प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाएपछि उनीमाथि महाअभियोग लगाउनसमेत माग गरिन्।
राईविरुद्ध अख्तियारमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेलले आइतबार राईविरुद्ध उजुरी हालेका हुन्। वाइडबडी प्रकरण, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत काण्डमा मुछिएका राईमाथि आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ।
‘मिति ०८१ मङ्सिर २० गतेका दिन मुद्दा नम्बर ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेमकुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ। त्यस्तै पूर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ,’ उजुरीमा भनिएको छ।
पूर्व आपूर्ति सचिव हुँदा राई नेपाल आयल निगमको जग्गा खरिद अनियमिततामा समेत मुछिएको उजुरीमा भनिएको छ। ‘राई आपूर्ति सचिव हुँदा निगमले भैरहवा, चितवन सर्लाही, झापालगायतका जिल्लाहरूमा डेढ अर्बभन्दा बढीको जग्गा खरिद गरेको थियो। उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राई नै थिए। अतः सो आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालीन आयल निगम कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि मुद्दा चलाइएपनि जग्गा खरिद गर्ने निर्णय गर्ने प्रेमकुमार राईमाथि भने कुनै मुद्दा समेत चलाइएन। कोरोना महामारीको बेलामा प्रेम कुमार राई जोडिएको आयल निगम जग्गा प्रकरण सम्बन्धी मुद्दा हतार हतार तामेलीमा राखिएको छ। अतः तत्काल अख्तियार प्रमुख राई मुछिएका तामेलीमा राखेको मुद्दा जगाई निज विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गर्न प्रस्तुत उजुरी पेस गरेको छु,’ उजुरी भनिएको छ।














प्रतिक्रिया