काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा लोडसेडिङ भन्दै आएको समाचारप्रति आपत्ति जनाएको छ । प्राधिकरणले आइतबार दिउँसो विज्ञप्ति नै निकालेर लोडसेडिङ नभई मर्मत सम्भार गर्नुपर्ने भएकाले केही दिन विद्युत अवरुद्ध हुने प्रस्ट पारेको छ ।
चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि निकालेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा व्यक्त धारणाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको उसले जनाएको छ ।
लोडसेडिङ नेपालका लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जनाले यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरुमा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत रहेको जनाएको छ ।
‘चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केवल प्राविधिक समस्या मात्र भएको र समस्या समाधानका लागि प्राधिकरण अहोरात्र खटिएको हुँदा दुई तीन दिनभित्र निरन्तर विद्युत आपूर्ति हुने व्यहोरा जानकारी गराउँदछौ,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणकै जिम्मेवारी पदाधिकारीद्वारा यस अवस्थालाई लोडसेडिङ भन्न नमिल्ने र बुधवारसम्ममा समस्या समाधान भइसक्ने कुरा उल्लेख भए पनि यसको विपरित मुख्य शीर्षकमा लोडसेडिङ उल्लेख हुनु आफैमा दुःखद् र कुनै पनि दृष्टिले न्यायोजित नभएको सञ्चार जगतसमक्ष निवेदन गर्दछौं।’














प्रतिक्रिया