नेपाली फिल्म क्षेत्रमा एक्सन नायकको रुपमा चिनिन्छन् सुशील श्रेष्ठ । उनको माग फिल्मी बजारमा विशेषगरि एक्सन फिल्मका लागि उच्च छ । यसैले, त सुशीललाई आजका दिनमा भ्याइनभ्याई छ ।
कुनै समय फिल्म नै खेलौं कि नखेलौं भन्ने सोचमा पुगेका सुशील आज फिल्मको सेटमा कडा मिहिनेत गरिरहेका छन् ।
सुशील विजय केरुङको निर्देशनमा बनिरहेको फिल्म ‘परिवर्तन’को छायांकनमा ५१ दिनदेखि व्यस्त छन् । यसपछि, उनले एक्सनमै आधारित रहेर तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’को छायांकन सुरु गर्नुपर्नेछ ।
सुशीलका अनुसार, उनले फिल्म ‘परिवर्तन’मा जस्तो एक्सन अहिलेसम्म कुनै पनि फिल्ममा गरेका छैनन् । सुशीलले मेरो फिल्मसँग भने–‘मैले यसमा गरेको एक्सन वेजोड छ । अहिलेसम्म कुनै पनि फिल्ममा मैले यति धेरै एक्सनका दृश्यहरु गरेको थिइनँ । यो राष्ट्रियतासँग जोडिएको फिल्म हो । एक्सनका दृश्य पनि लामा लामा छन् ।’
फिल्ममा सुशीलले नायिका अञ्जना बराइलीसँग जोडी बाँधेका छन् । यो फिल्मको छायांकन अब केही दिनमा सकिने सुशीलले जानकारी दिए ।
श्री श्रेष्ठले फिल्ममा एक्सन निर्देशन गरेका हुन् । सुशीललाई उनले यसपटक कडा एक्सनका सिक्वेन्सहरु तयार पारेका छन् ।
सार्वजनिक केही तस्वीर हेर्दा पनि सुशील फिल्मका लागि कुन हदसम्मको एक्सन गरिरहेका छन् भन्ने देखिन्छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।














प्रतिक्रिया