प्रधानमन्त्रीलाई नमस्कार गर्न हिँडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किएर दुर्घटना


काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई स्वागत गर्न हिँडेका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढेका गाडी आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा गाडीको अगाडिको भाग क्षतिग्रस्त भए पनि मन्त्रीहरू सकुशल छन् l

प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका–कटासेमा निर्माण सम्पन्न जलविद्युत् आयोजनाको उद्घाटनका लागि पुगेका छन् । प्रधानमन्त्री ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा मंगलबार दिउँसो भौतिकमन्त्री सुरेन्द्रबहादुर पाल चढेको गाडी र कानुनमन्त्री हीरा सार्की चढेको गाडी लम्कीमा ठोक्किएको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि भौतिक पूर्वाधार मन्त्रालयको से१झ ३३० नम्बरको कालो गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए । त्यहीबेला पछाडिबाट तीव्र गतिमा आइरहेको कानुन मन्त्रालयको बा२झ १४१९ नम्बरको रातो गाडी ठोक्किएको हो ।

दुवै गाडी क्षतिग्रस्त भए पनि गाडीमा रहेका मन्त्रीसहित सबैको अवस्था सामान्य छ ।