वि.सं २०८३ सालमा रिलिज गर्ने उद्देश्यका साथ फिल्म ‘रेलको बाटो’ निर्माणको घोषणा गरिएको छ । आज यो फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । लक्ष्मण सुनारको कथा र निर्देशनमा यो फिल्म बन्नेछ ।
कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित यो फिल्म निर्माण गर्न लागिएको हो ।
कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्न लागेको यो फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् ।
सुरज पण्डितको संगीत रहने यो फिल्ममा निसाल पौडेलको छायांकन, राकेश दाहालको पोस्टर डिजाइन छ । सार्वजनिक पोस्टरमा ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्य समेत समावेश गरिएको छ ।
यसले, राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ । यो फिल्मले सामान्य नागरिकको संघर्ष, श्रीमान–श्रीमतिबिचको सम्बन्ध र राजनीतिक बेवास्तालाई कथानकको मूल बिषय बनाउनेछ ।
यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न स्थानमा यो फिल्म खिचिनेछ । यो फिल्मका लागि अहिलेसम्म कलाकारहरुको टुंगो भने लागेको छैन । विस्तारै कलाकार र प्राविधिकहरुको टुंगो लगाउने निर्माणपक्षको योजना छ ।














प्रतिक्रिया