देउवा भेट्न बुढानिलकण्ठ पुगे रेशम चौधरी


काठमाडौं – रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाट हटाएको भोलिपल्टै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका चौधरीले पछिल्लो समय सिर्जित राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताएका छन् ।

रञ्जितालाई बुधबार बसेको नागरिक उन्मुक्तिको बहुमत केन्द्रीय सदस्यको बैठकले अध्यक्षबाट हटाएको थियो । त्यसको जानकारी निर्वाचन आयोगलाई समेत गराइएको छ । रञ्जिताले आफू अस्वस्थ भएको भन्दै पार्टी कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता शिव बास्तोलालाई दिएपछि नागरिक उन्मुक्तिमा विवाद उत्कर्षमा पुगेको हो ।

बुढानिलकण्ठमा देउवा र रेशमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार लिन लागेको विश्वासको मतबारे पनि कुराकानी भएको छ । नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सुुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेकै ३१ सांसद रहेकाले सरकार भने ढल्दैन ।