फेरि एकचोटि क्रान्ति गर्ने प्रचण्डको धम्की, पार्टीले तयारी गरिरहेको दाबी


काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक विद्रोहको आपश्यकता रहेको बताएका छन् ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित ‘बोत्ले हत्याकाण्ड’ स्मृति समारोहलाई सम्बोधन गर्दै उनले नयाँ विद्रोहको संकल्पसहित अघि बढ्ने दाबी गरे । उनले अहिले पार्टी त्यसैको तयारीमा रहेको पनि बताए ।

‘हामीले बल गरिरहेका छौँ, एकताबद्ध भएर प्रतिक्रियावादी षड्यन्त्र रोक्न हामीले कोसिस गरिरहेका छौँ’, उनले भने, ‘जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै आजसम्म जीवित रहेकोमा र नेतृत्वमा पनि भइराखेको कारणले एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरुलाई परास्त गर्नुपर्छ भन्ने संकल्पसहित हामी हिँडिराखेका छौं ।

प्रचण्डकै नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सशस्य विद्रोह सुरु भएको थियो । दस वर्षे विद्रोहमा १७ हजार नेपाली नागरिकले ज्यान गुमाएका थिए । सयौं बेपत्ता, हजारौंको अंगभंग तथा अर्बौको सम्पत्ति नष्ट भएको थियो । २०६३ मा शान्तिपूर्ण राजनीतिमा आएदेखि माओवादी पछिल्लो एक वर्ष मात्रै हो सरकारबाट बाहिर बसेको । प्रचण्ड आफैं तीन तीनपटक प्रधानमन्त्री बने । तर कुनै परिवर्तनको महसुस जनताले गर्न पाएका छैनन् । विपक्षमा पुगेपछि जहिल्यै पनि प्रचण्डले नयाँ क्रान्ति र विद्रोहको धम्की दिने गरेका छन् ।

प्रचण्डले जनयुद्ध दिवस मनाउने आफू नेतृत्वको सरकारको निर्णयमा रोक लगाउने अदालतको आदेशप्रति आपत्तिसमेत जनाए । ‘वास्तवमा यो विषय अदालत प्रवेश गर्ने र गराउने खालको विषय नै होइन, अदालतको आदेश एक ठाउँमा छ, तर हामीले जनयुद्ध सुरु भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मानाउनेछौ’, उनले भने ।