उसो त नायिका मिरुना मगरका फिल्मले बक्स अफिसमा कमजोर व्यापार नगरेका होइनन् । तर, रिलिज भएका फिल्मको संख्या र बक्स अफिस अनुपात हेर्दा उनी सुपरहिट फिल्मकी नायिका हुन् ।
उनले अभिनय गरेका ‘कबड्डी ४, जारी र नांगो गाउँ’ हिट भए । लगातार हिट भएका यी फिल्मबाट मिरुनाले ह्याट्रिक नै गरिन् ।
यो विचमा मिरुनाको ‘रंगेली’ बक्स अफिसमा असफल भयो । तर, फिल्म ‘मनसरा’को व्यापार कमजोर थिएन, औषत थियो ।
यसपछि, मिरुनाले अभिनय गरेका ‘घर ज्वाइँ र ऊनको स्वीटर’ हिट भए । ‘ऊनको स्विटर’को व्यापार त ११ करोड भन्दा माथि छ । अब, मिरुनाले फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’बाट ह्याट्रिक गर्ने अवसर मिलेको छ ।
यो फिल्मले आम नेपाली समाजको कथा, भावनालाई समेटेको छ । कलाकारहरुको लाइनअप पनि बलियो छ । यहीकारण, फिल्मले व्यापारिक रुपमा सफलता पाउने विश्वास गरिएको छ ।
भदौको ६ गतेबाट रिलिजमा आउने यो फिल्मका एसोसियट निर्देशक मनिष राउत हुन् । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको यो फिल्ममा विजय बराल, मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मले निम्न र मध्यम वर्गीय परिवारको कथालाई उजागर गर्ने दाबी निर्माणपक्षको छ । यो कुनै समुदायको विशेष कथा मात्र नभएर सबैको साझा कथा रहेको मनिषको तर्क छ ।
पेपरक्लिपको व्यानरमा निर्माण भएको यो फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको लगानी छ ।














प्रतिक्रिया